Saturday, December 19, 2015

फिल्म समीक्षा : दिलवाले र बाजिराव मस्तानी

पुस ४, २०७२- फिल्म केले राम्रो बनाउँछ ? के–के चिज भयो भने फिल्म बिक्छ ? यो प्रश्नको उत्तर खोज्न संसारका धेरै फिल्ममेकरले अनेक प्रयोग र प्रयासहरु गरेका छन् । यही प्रश्नको उत्तर खोज्न स्टिवन स्पिलवर्गले डायनोसरलाई पर्दामा ल्याए, जेम्स क्यामरुनले टर्मिनेर र अवतार जन्माए, अल्फान्सो क्रुसोले सान्ड्रा बुलकलाई अन्तरिक्षमा पठाए भने जर्ज लुकास ‘स्टार वार’ बनाइरहेका छन् । यसको सही उत्तर दिने वैज्ञानिक आजसम्म फेला परेको छैन । बलिउडका केही फिल्म निर्माताले आफ्ना लागि सायद उत्तर पत्ता लगाएका छन्– स्टार पावरले फिल्म चल्छ । यदि यो सुत्रमा विश्वास हुन्थेन भने सायद ‘दिलवाले’ बन्थेन होला । न त, ह्याप्पी न्यु इयर, चेन्नई एक्सप्रेस, रेडी, गोलमाल, सिंघम वा धुम–३ नै बन्थे होलान् । यी सबै फिल्मको सबभन्दा ठूलो विशेषता यसमा भएका ठूला स्टार हुन् । स्टारहरुको फ्यान फलोइङ र बेपत्ताको मार्केटिङले फिल्म चलाउन सकिन्छ भन्ने सुत्र हलिउडमा पनि कायम छ । तर, हलिउड त्यसका साथै नवीनता भएको कुनै कथा र सेटिङको पनि खोजीमा हुन्छ । संसारमा बलिउड एउटा यस्तो अपवाद फिल्म उद्योग हो, जहाँ एउटै कथा र एउटै सुत्रमा फरक स्टार लिएर धेरैवटा सुपरहिट फिल्म बनाउन सकिन्छ । बलिउडलाई दुइटा बलिउडका रुपमा बुझ्नु पर्छ । एउटा ठूलो बलिउड अर्को सानो बलिउड । इन्डिपेन्डेन्ट फिल्मको विशेषता भएका, कुनै ठूलो ब्यानर वा स्टुडियोले लगानी नगरेका साना बजेटका फिल्महरुलाई सानो बलिउडमा राख्न सकिन्छ । सिप अफ थेसियसदेखि धोवीघाट हुँदै आँखों देखि र मसानसम्मका फिल्मलाई यसमा राख्न सकिन्छ । ठूलो बलिउडका फिल्म पैसा कमाउने मेसिन हुन् । खान, देवगन, कुमार वा रोशनजस्ता स्टारलाई प्रोजेक्टरबाट पर्दामा पठाउनु भनेको उखु पेल्ने मेसिनमा उखुँका लाक्रा छिराउनुजस्तै भएको छ । मेसिनले जुस निकालेझैं यिनले पैसा निकाल्छन् । तर, दर्शकको मन मष्तिष्कमा कुनै प्रश्न वा तरंग पैदा गर्दैनन् । त्यसका लागि भने ‘सानो बलिउड’ नै चाहिन्छ । यो साता बलिउडमा दुई ठूला फिल्म रिलिज भए । एउटा शाहरुख खान र काजोलले मुख्य भूमिकामा अभिनय गरेको रोहित शेट्टीको ‘दिलवाले’ अर्को रनवीर सिंह, प्रियंका चोपडा र दिपिका पादुकोणले मुख्य भूमिकामा अभिनय गरेको संजय लिला भन्सालीको ‘बाजीराव मस्तानी’ । दिलवाले यदि पर्दामा १०–१० मिनेटको अन्तरमा कार हावामा उडिरहेका देखिन्छन्, कुनै बब्ली भाई टाइपको चोरले जोक सुनाइरहन्छ र क्यामेराको फोकस हिरोको अनुहारभन्दा बढी लात र मुक्कामा बढी हुन्छ भने बुझे हुन्छ, त्यो रोहित शेट्टीको फिल्म हो । यी सबैको बीचमा कथा पनि भेटियो भने त्यो दर्शकका लागि बोनस हुनेछ । यो सुत्रमा ‘दिलवाले’ ठ्याक्कै फिट हुन्छ । जोक भन्नका लागि यसमा जोनी लिभरदेखि वरुण धवनसम्म छन् । फाइट खेल्न र हिरोइनसँग ‘नोकझोंक’का लागि शाहरुख । ‘नोकझोंक’ किनभने यसमा रोमान्स खासै छैन । काजोलको चरित्रमा भएको एउटा सानो ‘ट्विस्ट’ बाहेक तपाईंलाई यसको बाँकी कुरा नयाँ लागेनन् भने त्यो तपाईंको दोष मानिने छैन । किनभने, आफ्नो भाईका लागि त्याग गर्ने दाईमा तपाईंले ‘मै हुँ ना’को शाहरुख खान देख्न सक्नुहुन्छ । दाईसँग डराएर आफ्ना गल्ती लुकाउन खोज्ने वरुण धवनमा रोहित शेट्टीकै पुरानो फिल्म ‘अल दि बेस्ट’को फरदिन खान देख्न सक्नुहुन्छ । चोरीका सामान किन्ने ओस्कर भाई बनेका संजय मिश्रमा पनि तपाईंले रोहित कै ‘गोलमाल’को संजय मिश्रा उर्फ बब्ली भाईलाई देख्न सक्नुहुन्छ । परस्पर विरोधी र दुश्मन परिवारका सदस्यको प्रेमको कथाका लागि कुनै एउटा मात्रै फिल्मको उदाहरण दिइयो भने अन्याय हुनेछ । किनभने, यसमा सयभन्दा बढी फिल्मको हक लाग्छ । यसमा पाइने नयाँ कुरा चाहिँ बुल्गेरियाका दृश्य हुन् । तपाईंलाई बुल्गेरिया नक्सामा कतापट्टि पर्ने देश हो र त्यहाँ कसरी भारतीय डन पुगे भन्ने जिज्ञासा छ भने यो प्रश्नको कुनै अर्थ छैन । किनभने, न त दिलवालेका निर्देशकलाई यसको उत्तर चाहिएको छ, न दर्शकलाई नै । दुश्मन परिवारकै बीच भए पनि, बीचमा जतिसुकै व्यवधान आए पनि आखिरीमा जित प्रेम कै हुन्छ, भलै त्यसका लागि हिरो निकै बलियो र लडाकु हुन किन नपरोस्, भन्ने कथा दिलवालेले भन्छ । बलिउडको निकै लोकप्रिय जोडी शाहरुख र काजोललाई केही सयमको अन्तरालपछि पर्दामा सँगै ल्याउनु पनि यसको अर्को उद्देश्य देखिन्छ । फिल्ममा कथाको ‘स्पिडब्रेकर’ वा ‘ट्वाइलेट ब्रेक’का रुपमा प्रयोग गरिएको भए पनि यसका ‘गेरुवा’ र ‘इमोसन’जस्ता गीत हिट भएका छन् । बलिउडमा हिट गीतको छुट्टै बजारशास्त्र छ, यसैले कथामा कतैबाट पनि काम नलाग्ने गीत पनि हिन्दी फिल्ममा हुन्छन् । मनोरञ्जन के हो र मनोरञ्जक फिल्म कस्ता हुन् भन्ने लामो समयदेखि चलिरहेको बहस हो । यसका साथै कसका लागि कुन मनोरञ्जन भन्ने पनि प्रश्न आउँछ । एउटै कुराले सबैलाई समान किसिमले मनोरञ्जन दिन सक्दैन भन्ने पनि छ । तर, जसले जे भने पनि ठूलो ‘मास’लाई मनोरञ्जन दिनसक्ने फिल्मलाई बक्स अफिसमा सफल मानिन्छ । सफल हुनु भनेको राम्रोको ग्यारेन्टी भने होइन । गाडी उडाइएका, गाडीले लामो पिछा गरेका बुल्गेरियाका दृश्य, गोवाका सडक, साइड हिरो, कमेडियनका केही जोक र फाइटले तपाईंलाई मनोरञ्जन दिन्छन् भने यो फिल्म तपाईंका लागि हो । यसभन्दा बढी शाहरुख खान, काजोल, वरुण धवन कीर्तिका फ्यानलाई पनि यसले लोभ्याउन सक्छ । फिल्म हेर्न जाँदा दिमाग घरमै राखेर जानुपर्छ भन्ने फराह खान–रोहित शेट्टीको ‘पर्फेक्ट’ बलिउड मसाला फिल्ममा दिलवाले पर्छ । रोहित शेट्टीले आफूले जानेको काम राम्रोसँग गरेका छन् । गोवामा मात्रै कार उडाएर सन्तुष्टि नभएर होला उनले बुल्गेरियामा पनि कार उडाएका छन् । पचास वर्ष पुग्दै गर्दा शाहरुख खानमा अचेल ड्यासिङ र एक्सन हिरो भन्ने रहर झन् बढ्दै गएको छ । यसैले उनले ह्याप्पी न्यू इयरको दाह्रीवाला एक्सन लुक यसमा पनि कायम राखेका छन् । आफ्नो अभिनयमा पनि उनले खास कुनै परिवर्तन आउन दिएका छैनन् । काजोलका लागि यो फिल्ममा पुनरागमन हुनसक्छ । शाहरुखको छायाँमा भएर होला वरुण धवन अभिनयमा पनि उनकै छायाँमा छन् । बाजिराव मस्तानी बाजिराव मस्तानीमा पनि स्टार छन्, रनवीर सिंह, प्रियंका चोपडा र दिपिका पादुकोण । तर, यो फिल्म ‘दिलवाले’जस्तो स्टारको शक्तिमै निर्भर फिल्म होइन । अठारौं शताब्दिमा मराठा साम्राज्यका सेनापति बाजिराव बल्लाल भट र उनकी दोस्री पत्नी मस्तानीको कथालाई यो फिल्ममा प्रस्तुत गरिएको छ । ‘संसारका सबै धर्मले प्रेम सिकाउँछन् । प्रेमको कुनै धर्म हुँदैन, प्रेम आफैंमा एउटा धर्म हो,’ बाजिराव मस्तानीको सुत्र वचन यही हो । पूरा फिल्म यही वचनलाई सिद्ध गर्न बनाइएको छ । एन.एस इनामदारको उपन्यास ‘राउ’मा यो फिल्मको कथा आधारित छ । यसै उपन्यासमाथि १९९० मा मराठी सिरियल बनेको थियो । सन् १९५५ मै धीरुभाई देसाई नामक निर्देशकले बाजीराव र मस्तानीको कथामा ‘मस्तानी’ नामक फिल्म पनि बनाएका थिए । उपन्यास, सिरियल र फिल्म नै बनेका भए पनि बाजिराव मस्तानीको कथालाई अहिलेका दर्शकसामु ल्याउने काम गरेका छन् संजयलिला भन्सालीले । संजय लिला भन्साली ‘लार्जर देन लाइफ’ साइजका कथा, सेट र इतिहासप्रति आशक्ति राख्ने निर्देशक हुन् । उनका यसअघिका फिल्महरु देवदास, ब्ल्याक, साँवरिया र रामलिला यसका उदाहरण हुन् । एक सटका लागि उनी करोड खर्च गरेर सेट बनाउन सक्छन्, हिरोइनलाई ३५ किलोको घांग्रा लगाएर नचाउन सक्छन् । भन्सालीका फिल्ममा हिरोइन र सेट हर हालतमा सुन्दर हुन्छन् भन्ने भनाई पनि छ । बाजिराव मस्तानीमा पनि यी विशेषता पाइन्छन् । मराठा साम्राज्यका छत्रपति (महाराजा) को पेश्वा (सेनापति) छनोटको दृश्यबाट सुरु हुने यो फिल्मले जम्मा २ घन्टा ३८ मिनेटको अवधिमा त्यो सेनापतिको प्रेम, युद्ध, सनक र पागलपनलाई दर्शाउँछ । फिल्ममा एकसाथ धेरैवटा लडाईं छन् । सेनापतिको कथा भएकाले हतियारका लडार्इं हुने नै भए । उसको घरभित्रै अर्को ठूलो युद्ध पनि छ । विवाहित पत्नी र सन्तान भएको हिन्दु ब्राह्मण बाजिरावले जब हिन्दु बाबु र मुस्लिम आमाबाट जन्मिएकी राजाकी छोरी मस्तानीलाई दोस्री पत्नीका रुपमा लिएर आउँछ, तब सुरु हुन्छ परिवारको लडाईं । यो लडाई धेरै तहमा फैलिएको छ । ऐतिहासिक पात्र भएकाले त्यो बेला र त्यसबेलाको समाज देखाउनका लागि फिल्ममा निकै मिहिनेत गरिएको छ । राति खिचिएका युद्धका दृश्य हुन् वा ‘मुगल–ए–आजम’ की अनारकलीको झल्को दिनेगरी मस्तानीलाई कैद गरिएका दृश्य हुन् यी सबैमा कलात्मक प्रयोग देखिन्छ । इतिहास, ऐतिहासिक पात्र तथा विशाल क्यानभास भएका कथामा तपाईंलाई रुची छ भने बाजिराव मस्तानी उपयुक्त फिल्म हुनसक्छ । फिल्म हेरिरहँदा मुगल सम्राट अकबर र राजस्थानी राजकुमारी जोधाबाईको कथा भनिएको आशुतोष गोवारिकरको फिल्म ‘जोधा अकबर’को झल्को आउँछ । यी दुवै ऐतिहासिक पात्रको कथामा भएको समानताको कारण यस्तो भएको हुनसक्छ । दुवै फिल्म योद्धा र राजकुमारीको प्रेमकथा हुन् । दुवैमा दरबार वा महलको पारिवारिक द्वन्द्व कथाको केन्द्रमा छ । दुवैमा आमाको प्रेम र पत्नीको प्रेमको द्वन्द्व छ । फिल्मको ‘हाइलाइट’ अभिनय हो । रनवीर सिंहले जुन उर्जाका साथ बाजिरावको हाउभावलाई पेश गरेका छन् त्यो प्रशंसनीय छ । फिल्मको क्लाइमेक्स अभिनयको पनि ‘हाइप्वाइन्ट’ हो । हातमा नांगो तरबार लिएका टुप्पीधारी रनवीर सिंहको नर्मदा नदिको दौड अभिनय यात्राको शिखरतिरको दौडजस्तो लाग्छ । हिन्दी फिल्ममा आजसम्म देखिएको सबभन्दा राम्रो ट्रयाजिक दृश्यमध्येमा यो दृश्यको गणना हुनेछ । ‘ब्यान्ड बाजा बारात’ देखि ‘बाजिराव मस्तानी’सम्म आइपुग्दा उनको करिअर र अभिनयमा भएको विकास देख्न सकिन्छ । मस्तानीको रुपमा दिपिका पादुकोणले यसमा प्रभावित पार्छिन् । एउटा सुन्दर तर उपेक्षित युवतीका रुपमा उनले निर्वाह गरेको चरित्र पनि बलबान छ । ‘ह्याप्पी न्यु इयर’की बार डान्सर र ‘तमासा’की अलमलमा परेकी युवतीभन्दा यो चरित्र बिल्कुल फरक छ । बाजिरावकी पहिली पत्नीको भूमिकामा प्रियंका चोपडाको रुप र अभिनय दुवैको उपयोग निर्देशकले गरेका छन् । बाजिरावले सेनापतिका रुपमा लगातार ४१ वटा युद्ध जितेका थिए भनिन्छ । उनको पराजय कुनै युद्धमा हुँदैन । त्यो कुन चिज हो यसले एउटा सेनापतिलाई सजिलै पराजित गर्न सक्छ ? कुनै देश, समाज वा परिवारको निर्माणमा आउने जटीलताहरु के–कस्ता हुन्छन् ? र, तिनको जन्जालमा ठूला महारथीहरु कसरी फँसेका थिए भनेर जान्नका लागि यो फिल्म काम लाग्छ । संजयलिला भन्सालीले भव्य क्यानभासको सिर्जना गरे पनि उनी प्रेममा वियोगका कथालाई महत्व दिन्छन् । हम दिल दे चुके सनमदेखि, देवदास, साँवरिया, गुजारिस, रामलिला हुँदै बाजिरावसम्म भन्सालीका सबै फिल्म ट्रयाजडी हुन् । पूरा नभएको प्रेमलाई नै महान् मान्ने दर्शनबाट उनी प्रभावित छन् । निर्देशकका रुपमा उनी आफ्नो त्यो दर्शन स्थापित गर्न सफल छन् । ‘बाजिराव’मा उनले खैरो रंग र अँध्यारोलाई प्राथमिकता दिएका छन् । यसैले प्राय: घटनाहरु कि त राति हुन्छन् कि त अँध्यारो हल वा कोठामा । भौतिक शरीरको अवसानपछि मात्रै प्रेमी–प्रेमिकाको वास्तविक मिलन हुन्छ भन्ने ‘रोमान्टिक’ कथामा सबै दर्शक सहमत नहुन सक्छन् । फिल्मको लम्बाई, ऐतिहासिक ‘रिफ्रेन्स’ र भव्य सेटिङले पनि कतिलाई असजिलो लाग्न सक्छ । युद्ध, हिंसा र अँध्यारो पनि सबैलाई मन नपर्नसक्छ ।

No comments:

Post a Comment