Tuesday, December 15, 2015

ढाका जाँदै नेपाली टिम

मंसिर २९, २०७२- नेपाली राष्ट्रिय फुटबल टिम बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न मंगलबार ढाकातर्फ प्रस्थान गर्दैछ । टिम कोलकाता हुँदै आज ढाका पुग्नेछ । राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा टिमको बिदाई गरे । नेपालले चिरपरिचित प्रतिद्वन्द्वी बंगलादेशसँग बिहीबार मैत्रीपूर्ण खेल खेल्नेछ । साफ च्याम्पियनसिपअघि त्यो नै नेपाली टिमको एकमात्र खेल हुनेछ । एन्फा अध्यक्ष गणेश थापा घुस लिएको आरोपमा फिफाद्वारा १० वर्ष प्रतिबन्ध र २० हजार स्वीस फ्रयांक जरीबानामा परेको तथा ६ वर्षयता कप्तान रहेका सागर थापासहित पाँच फुटबलर म्याच फिक्सिङको अभियोगमा प्रहरीद्वारा पक्राउ परेर एएफसीबाट आजीवन प्रतिबन्धमा परेयता राष्ट्रिय टिम पहिलोपल्ट मैदानमा और्लन लागेको हो । फरवार्ड अनिल गुरुङले २० सदस्यीय नेपाली टिमको कप्तानी गर्दैछन् । मैत्रीपूर्ण खेलपछि नेपाली टिम तीन दिने बन्द प्रशिक्षणमा ढाकामै हुनेछ । त्यसपछि नवौं साफमा प्रतिस्पर्धा गर्न भारतको त्रिवेन्द्रम (केरला) जानेछ । बेल्जियन प्रशिक्षक प्याट्रिक ओसेम्सले सम्हालेको नेपाली टिमले साफको समूह चरणमा सर्बाधिक पाँचपल्टको च्याम्पियन भारत र फिफा वरीयतामा दक्षिण एयिाकै पुछारमा रहेको श्रीलंकासँग खेल्नेछ । पहिलो खेल पुस ८ मा श्रीलंकाविरुद्ध हुनेछ । पुस १२ मा नेपाल र भारत भिड्नेछन् । डिफेन्डिङ च्याम्पियन अफगानिस्तान, सन् २००८ को विजेता माल्दिभ्स र २००३ को च्याम्पियन बंगलादेश तथा पछिल्लो समय निक्कै प्रगत गरेको भुटान समूह ‘बी’मा छन् । समूहको शीर्ष दुई स्थानमा रहने टिम सेमिफाइनल प्रवेश गर्नेछन् ।

No comments:

Post a Comment