Saturday, December 19, 2015

फिक्सिङको जालो

पुस ४, २०७२- विल्सनराजन पेरुमल । विश्व फुटबलको लागि नामै काफी छ । उनको नाम राम्रो कामका लागि भने होइन । सिंगापुरलाई स्टेसन बनाएर उनले विश्वभरि म्याच फिक्सिङ (खेल मिलेमतो) को जालो फैलाए । घरेलु लिगहरु मात्र होइन, अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलदेखि विश्वकप छनोटकै प्रतिस्पर्धाको नतिजा र त्यसमा पनि कुन समयमा कति गोल गर्ने भन्ने निश्चित गर्थे । त्यसबाट धनाढ्य त भए तर उनले सँधै प्रहरी–प्रशासनलाई छल्न सकेनन् । उनले सिंगापुरमा चार वर्ष, फिनल्यान्डमा दुई वर्ष जेलमा बिताउनुपर्‍यो । फेरि सिंगापुरमा पाँच वर्षको जेल सजाय तोकियो तर उनी त्यस फैसला नहुदै बिदेश उडिसकेका थिए । अर्थात्, उनले जेल सजायमै पनि फिक्सिङ गर्न भ्याए । पेरुमल फिनल्यान्ड हुँदै अहिले हंगेरीमा शरण लिएर बसेका छन् । उनी अनुसन्धानात्मक पत्रकारिकाता गरिरहेका एलेसान्ड्रो रिघी र इमानुएल पियानोसँग आफ्ना कर्तुतहरुलाई पुस्तकमा रुपान्तर गर्न सहमत भए । विश्व फुटबलकै कुख्यात म्याच फिक्सर विल्सनराजको पुस्तक ‘केलोङ किङ्स’ अप्रिल, २०१४ मा बजारमा आयो । त्यसमा नेपाली राष्ट्रिय टिमबारे पनि वयान गरिएको छ । तर, त्यो वयान पढ्न/सुन्न उत्सुक हुनुपर्ने खाल्को भने छैन । तालिबान शासनको अन्त्यसँगै सन् २००२ मा अफगानिस्तान अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको थियो । फुटबलको बाहिरी संसारसँग विछोडिएको १८ वर्ष भइसकेको थियो । त्यसैले फर्किएको अफगान टिम बलियो थिएन । उसलाई साफ च्याम्पियनसिप र च्यालेन्ज कपमा आमनेसामने हुदा उसलाई नेपाललाई सजिलै हराउने गरेको थियो । त्यसैले ढाका साफ २००९ मा अफगानिस्तानमाथि नेपालले हात पारेको ३–० को जितलाई स्वाभिवक रुपमा लिइएको थियो । तर, खासमा त्यस नतिजा अस्वभाविक भएको रहस्य ६ वर्षपछि आएर खुलेको छ । त्यसको एक वर्षअघि मलेसियामा भएको मर्डेका कपमा यी दुईले २–२ गोलको बराबरी खेलेका थिए । खासमा त्यो चाहि अस्वभाविक थियो र त्यो अस्वभाविक नै थियो भन्ने एक महिनाअघि मात्रै थाह भयो । अफगानिस्तानसँगै ती दुवै प्रतिस्पर्धामा म्याच फिक्सिङ (खेल मिलेमतो) भएको रहस्य खोल्ने काम नेपाल प्रहरी, एसियाली फुटबल महासंघ (एएफसी) र यसका पार्टनर स्पोर्टसराडार, युरोपेली फुटबलका इन्टिग्रिटी युनिटले गरे । उनीहरुका रिपोर्टअनुसार ढाकाको त्यस नतिजाको लागि ३ हजार ६१ अमेरिकी डलर खेलाडीले म्याच फिक्सरबाट लिएका थिए भने मर्डेका कपको नतिजा पहिले नै तय गर्न प्रति खेलाडी ५ हजार डलर । पेरुमलको पुस्तकमा मर्केका कपको अर्को खेलको पनि कथा लेखिएको छ, जुन सिएरालियोनसँग भएको थियो । त्यसमा नेपाल १–३ ले हारेको थियो । पेरुमलले फिक्सिङको लागि डिल गरिएका डिफेन्डरको ‘नौटंकी खेल’ ७५ मिनेटपछि सुरु हुन्छ । केलोङ किङ्समा नेपाली फुटबलबारे सबभन्दा डरलाग्दा दुई वाक्य छन्, ‘हामीसँग सम्पर्कमा आउनुअघि नै नेपाल भ्रष्ट थियो । मलेसियाली एजेन्टमार्फत् सम्पर्क गरेपछि खेलाडी हामीसँग बोल्न आए ।’ सीएनएनलगायत विश्वका ठूला प्राय सबै मिडियामा उनले यस्तै बोलेका छन् । यसमा राष्ट्रिय टिमको खेल पछ्याउने समर्थक र तीन करोड नेपालीले के अर्थ लगाउने ? के नेपाली खेलाडी पहिले नै नतिजा पक्का गरेर मैदानमा प्रवेश गर्छन् ? यदी पेरुमलले सही बोलेका हुन् भने पहिले नै स्क्रिप्ट लेखिएर थिएटरमा देखाइने नाटक, स्क्रिनका फिल्म र नपाली खेलाडीले मैदानमा खेल्ने फुटबलमा के फरक रह्यो र ? पेरुमल गलत बोलीरहेका छन् भनौं भने उनले फिक्सिङ गरेको भनिएका खेलहरु अनुसन्धानमा फिक्सिङ भएकै ठहरिएका छन् । विश्वकप २०१४ छनोटको पहिलो लेगमा जोर्डनसँग अम्मानमा नेपाल ९–० ले हारेको थियो, जुन अन्तर सोच्नै नसकिने थियो । त्यसको पाँचौ दिनमै दशरथ रंगशालामा भएको दोस्रो लेगमा १–१ को नतिजा निस्कियो । र, यो नतिजा पनि कल्पनाबाहिरको कुराजस्तै थियो । त्यसबेलाका कप्तान सागर थापाले पत्रकार सम्मेलनमा भनेका वाक्यहरु निक्कै देशभक्त थिए, ‘हामीले मात्र होइन कि देशको माटोले हामीलाई पनि चिन्ने रहेछ ।’ उनको त्यो वाक्यले नेपालीहरुलाई भावानातमक बनाएको थियो । तर, अहिले उनको खेल र ती खेलका नतिजा नै पूरा शंकाको घेरामा छ । उनीसहित फुटबलरहरु रितेश थापा, सन्दीप राई, विकाससिंह क्षत्री, अन्जन केसी र राष्ट्रिय टिमका पूर्वफिजियो डेजिव थापालाई प्रहरीले विशेष अदालतमा ‘राज्यविरुद्धको अपराध’मा मुद्धा चलाएको छ । यी पाँच फुटबलरलाई एएफसीले फुटबलको कुनैपनि गतिविधिमा सहभागि हुन नपाउनेगरी आजीवन प्रतिबन्ध १८ मंसिरमै लगायो । नेपाली राष्ट्रिय टिमले सबभन्दा ठूलो हार दक्षिण कोरियासँग बेहोको थियो । १२ वर्षअघि सोलको त्यो नतिजा कोरियाको पक्षमा १६–० थियो । त्यसमा पूरा समय नेपालको गोलपोष्ट रितेश थापाले सम्हालेका थिए । पछिल्ला घटनाक्रमले यस्तो माहोल सिर्जना गरेको छ कि कतै त्यो खेलमा पनि फिक्सिङ भएको त थिएन ? प्रहरीले २७ असोजमा पक्राउ गरेको थियो । धरौटीमा २४ कार्तिकमा छुटेका उनीहरुविरुद्ध विशेष अदालतमा मुद्धा चलिरहेको छ । करिअरको अन्त्यतिर पुगेका खेलाडी धेरैजसो म्याच फिक्सिङमा संलग्न हुने गर्छन् । तर, नेपालमा अलि फरक देखियो । उमेरको हिसाबले पाँचै फुटबलर करिअरकै उत्कृष्ट फर्ममा हुनुपर्ने हो । फिक्सिङमा प्राय: डिफेन्स र गोलकिपर संलग्न भएको पाइएको छ । प्रशिक्षक अन्जन र विकाससिंह पूर्वडिफेन्डर हुन् । सागर र सन्दीप पनि डिफेन्समै खेल्थे । रितेश किपर हुन् । उनीहरुले आठ खेलमा फिक्सिङ गरेको प्रहरीको दाबी छ । पेरुमलसहित सिंगापुरकै टिटानी पेरियासामी र मलेसियाका केसभन पटानले पठाएको ३८ लाख ६५ हजार ६ सय ५० रुपैयाँ ५० पैसा पक्राउ परेका फुटबलर र उनीहरुका नातेदारले लिएको पाइएको छ । यसरी हुन्छ फिक्सिङ बढी उमेरका खेलाडी मैदानमा उतारेर अखिल नेपाल फुटबल संघ (एन्फा) ले पहिलेदेखि नै ‘एज फिक्सिङ’ त गर्दै आएको थियो नै । नेपालको यू–१९ र यू–२३ टिम पनि शंकाको घेरामा छ । फिक्सरहरु जहिले पनि एजेन्ट, अफिसियलमार्फत् खलाडीको सम्पर्कमा पुग्ने गर्छन् । नेपाली खेलाडीलाई पनि त्यही भयो । केहि खेलाडीले मलेसिया, सिंगापुरको क्लबमा अनुबन्ध गर्ने आश्वसान पाएका थिए । तर, त्यो करिअर उकास्ने मौका थिएन, थियो त केवल फिक्सिङको नेटवर्कमा प्रवेश । पेरुमल, टिटानी र पटानलसँग नेपाली खेलाडीहरुले दरबार मार्गको रेष्टुरेन्टमा भेटेका थिए । सामन्य सूचना लिदै खेलाडीसँग नजिक भएपछि खेलको नतिजा पहिले नै तय हुन थाल्छ । आफ्नो जालोमा परेपछि फिक्सरले खेलाडीलाई बाहिर निस्कने मौका दिदैन र खेल नै नहुदा पनि तलबजस्तै गरी नियमित रकम दिने गर्छ । हुन त पछिल्लोपल्ट राष्ट्रिय टिमले दक्षिण एसियाली खेलकुद १९९३ मा स्वर्ण जित्दा पनि फाइनलअघिको एक खेलमा मैदानमा ओर्लनुअघि नै नतिजा पक्का गरिएको बताइन्छ । त्यसैले पहिलोपल्ट फुटबलर पक्राउ गरिएपनि उनीहरुले गरेको फिक्सिङ नै नेपाली फुटबलमा पहिलो हो भन्न सकिन्न । सन् १९८० को दशकको सुरुमा नेपाली टिमको मुख्य प्रशिक्षक थिए, रुडी गुटेनडर्फ । यी जर्मनले नेपाली सम्हाल्दाको अनुभव बीबीसीलाई भनेका छन्, ‘तेलको धनाढ्य शेखले एसियन गेम्समा ८–० ले हार्नको राखेको ५ लाख डलरको प्रस्ताव अस्वीकार गरे ।’ पूर्वकप्तान राकेश श्रेष्ठलाई पनि मोटो रकमकै प्रस्ताव आएको बताइन्छ । नेपालको घरेलु फुटबल पनि म्याच फिक्सिङले ‘ध्वस्त’ पारेको छ । उपाधिको छिनोफानोदेखि रेलिगेसनको प्रतिस्पर्धा पनि मैदानको खेलभन्दा फिक्सिङमा आधारित भएको छ । घरेलु लिगमा एकै खेलको निम्ति १५–१६ लाख रुपैयाँसम्ममा लेनदेन भएको छ । प्रशिक्षक, अफिसियलहरुले खुलेरै बोलेपनि फिक्सिङप्रति एन्फा कहिल्यै गम्भीर भएन । सशस्त्र प्रहरीको एपीएफले २०६६–६७ को लिगमा मछिन्द्रलाई ८–० ले हराएको खेलमा पनि मैदानबारि ठूलै चलखेल भएको थियो । हाल नेपाल प्रहरीका एआइजी रहेका विज्ञानराज शर्माको संयोजकत्वमा फिक्सिङबारे छानबिन समिति नै बनेको थियो । तर, त्यो समिति नाम मात्रको रह्यो । उसले प्रतिवेदन कहिले तयार पार्ने हो थाह छैन । सशस्त्रका पूर्वडिआईजी माधव थापा अहिले एन्फाका इन्टिग्रिटी अफिसर छन् । उनको काम अहिलेसम्म देखएको छैन । क्लब–क्लब र क्लब–खेलाडीवीच हुने नेपालको फिक्सिङलाई ‘स्पोर्ट फिक्सिङ’ भनिन्छ । यसमा फिक्सर क्लब र खेलाडी हुन्छन् र यस्तो फिक्सिङ खेलको नतिजा आफू अनुकूल बनाउनलाई गरिन्छ । अर्को किसमको मिलेमतोलाई ‘बेटिङ फिक्सिङ’ भनिन्छ । यसमा फिक्सरले निश्चित खेलाडीलाई कुन समय, कति गोल गर्ने भन्ने निर्देशन दिएको हुन्छ । अर्थात् फिक्सरले बेटिङ कम्पनीमा पैसा लगाउने गर्छ र त्यो बाजी जित्न उसले फिक्सिङ गर्छ । बेटिङ प्याटर्नमा हुने अस्वभाविक उतारचढावले त्यस खेलमा फिक्सिङ भएको आशंका गर्न सकिन्छ । बेटिङ प्याटर्नको विश्लेषणबाटै नेपाली राष्ट्रिय टिमको खेलहरुमाथि फिक्सिङ भएकोबारे अनुसन्धान सरु भएको थियो । म्याच फिक्सिङलाई जुवाकै अर्को रुप पनि भनिन्छ, एकपल्ट लत बसेपछि बारम्बार गरिरहनुपर्ने । फुटबल, बेसबल, बक्सिङ, अमेरिकी फुटबल, एथलेटिक्स, बास्केटबल र क्रिकेट बढी फिक्सिङ हुने खेल हुन् । यी खेलमा अवैध रुपमा फिक्सिङबाट बार्षिक ३० खर्ब डलर बढी करोबार हुने गरेको बेटिङ विद् प्याट्रिक जेको रिपोर्टमा उल्लेख छ । उनले संयुक्त राष्ट्रसंघको अप्रिल, २०१५ मा दोहामा भएको ‘अपराध रोकथाम र फौजदारी न्याय’ विषयक सम्मेलनमा प्रस्तुत गरेको रिपोर्टमा बेटिङको ६५ प्रतिशत रकम फुटबलमा रहेको देखाएका छन् । यसको केन्द्र पनि एसियाको आसियन क्षेत्र नै हो । विश्व खेलकुदको २५ प्रतिशत नियन्त्रण नै संगठित अपराधिक समूहमा हुने पाइएको छ । यसैको जालोा नेपाली फुटबलर परेको देखिन्छ ।

No comments:

Post a Comment