Saturday, December 19, 2015

म्याच फिक्सिङको आरोपमा राष्ट्रिय टिमका कप्तान सागर थापासहित ४ खेलाडी पक्राउ

आश्विन २७, २०७२- म्याच फिक्सिङ (खेल मिलोमतो) को आरोपमा नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान सागर थापासहित ५ जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ। खेलाडीहरू विकाससिंह क्षेत्री, रितेश थापा, सन्दीप राई र प्रशिक्षक अञ्जन केसी पक्राउ परेका हुन्। अन्तर्राष्ट्रिय फुटबलमा खेल मिलोमतो गरेको आरोप पुष्टि भएमा खेलाडीलाई फुटबलको कुनै पनि गतिविधिमा सहभागी हुन नपाउने गरेर आजीवन प्रतिबन्ध लगाउने नियम छ। एसियाली फुटबल महासंघको आचारसंहिताअनुसार आरोप पुष्टि भएमा खेलाडीलाई ठूलो आर्थिक जरिवाना र जेल सजाय पनि हुन सक्ने छ। नेपाली फुटबलमा यस्तो घटना जानकारीमा आएको यो पहिलो हो। अन्तर्राष्ट्रिय फुटबलमा क्लब स्तरमा खेल मिलोमतो भए पनि राष्ट्रिय टिमका लागि खेलाडीले यस्तो गरेको कमै पाइन्छ। नेपाली घरेलु फुटबलमा पनि खेल मिलोमतो हुँदै आएको आरोप छ। अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले विदेशी ‘फिक्सर’ बाट लाखौं रुपैयाँ लिई नेपाली टिमलाई पराजित गरेको बताए। ‘विदेशीसँग बाजी मार्ने अनि पैसाको मोलमोलाई गरेर आफ्नो टिमलाई पराजित गराएको देखियो’, उनले भने, ‘मुख्य योजनाकार सागर र अञ्जन रहेछन्।’ सन् २०११ मा भएको विश्वकप छनोटदेखि नै नेपाली खेलाडीमाथि खेल मिलेमतोको आशंका गरिँदै आएको थियो। अोमानमा भएको विश्वकप छनोटको पहिलो लेगमा नेपाल जोर्डनसँग ९–० ले पराजित भएको थियो। जबकि काठमाडौंमा भएको दोस्रो लेगमा नेपालले १–१ को बराबरी नतिजा निकालेको थियो। एक महिना लामो अनुसन्धानपछि अभियुक्तलाई पक्राउ गरिएको प्रमुख खनालले बताए। फिलिपिन्स, इराक, कुबेत, अफगानिस्तानलगायत मुलुकमा भएको खेलमा फिक्सिङ गरेको उनले बताए। त्यसैगरी दक्षिण कोरियामा भएको एसियाली खेलकुदमा लाखौं रुपैयाँ लेनदेन गरेर आफ्नो टिमलाई पराजित गरेको अनुसन्धानबाट खुल्न आएको उनले बताए। अन्तर्राष्ट्रिय फिक्सरहरूले इन्टरनेसनल मनी ट्रान्सफर, सिटिजन बैंक इन्टरनेसनल, साइबर मनी ट्रान्सफर र सोसाइटी मनी ट्रान्सफरबाट पैसा पठाएको खुल्न आएको उनले जनाए। ‘ट्रान्जिक्सनचाहिँ सिंगापुर, मलेसियाबाट भएको देखिन्छ,’ उनले भने, ‘अन्य मुलुकबाट पनि भएको देखिन्छ, त्यसको अनुसन्धान गर्दैछौं।’ मिलोमतोमा अन्य व्यक्तिको पनि संलग्नता देखिएको भन्दै त्यसबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए। ‘संगठित अपराध हो, यसको नेटवर्किङ (जालो) फैलिएको देखिन्छ,’ उनले भने। महाशाखाका अनुसार अञ्जन र विकासलाई जावलाखेल, सागरलाई थापाथली, रितेश र सन्दीपलाई बालुवाटारबाट पक्राउ गरिएको हो। ‘संगठित रूपमा राज्यविरुद्ध आर्थिक जघन्य अपराध हो,’ उनले भने, ‘यी देशद्रोही हुन्, यो अक्षम्य अपराध हो।’ सम्पूर्ण नेपालीको इज्जतमाथि धब्बा लगाएको भन्दै उनले कडा कारबाही गर्नुपर्ने बताए। ‘खेलमा हारजित हुनु सामान्य हो,’ खनालले भने, ‘तर यस्तै गर्दै जाने हो भने खेलप्रेमीको मनोबल कस्तो होला?’ खेलाडीको जीवन शैलीमा एकाएक परिर्वतन आएकाले उनीहरूमाथि अनुसन्धान थालिएको उनले बताए। अञ्जनले सिक्किमका विभिन्न क्यासिनोमा लगानी गरेको उनले बताए। ‘सबैको लगानी हुन सक्छ, अञ्जनको त करोडौं लगानी छ जस्तो देखिन्छ,’ उनले भने, ‘सिक्किमका क्यासिनोमा लगानी गर्नु भनेको सामान्य कुरा होइन, अरूको बारेमा पनि अनुसन्धान गर्दैछौं।’ समातिएकाहरू सागर थापा राष्ट्रिय टिम कप्तान सागर थापाले सन् २००३ मा इन्चेनमा भएको एसिया कप छनोटबाट डेब्यु गरेका हुन्। अहिले थ्री–स्टारका पनि कप्तान रहेका उनले २००९ मा काठमाडौंमा भएको एएफसी च्यालेन्ज कप छनोटबाट राष्ट्रिय टिमको नेतृत्व सम्हालेका थिए। सर्वाधिक खेल्ने खेलाडी बनेका थापाले ६४ क्याप जितिसकेका छन्। सन्दीप राई थ्री–स्टारका सन्दीप राई राष्ट्रिय टिमका उपकप्तान हुन्। सन् २००८ मा पाकिस्तानविरुद्ध पोखरामा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टिममा प्रवेश गरेका उनले ४९ क्याप जितेका छन्। उनी एन्फा एकेडेमीको दोस्रो पुस्ताका उत्पादन हुन्। रितेश थापा गोलरक्षक रितेश थापा थ्री–स्टारबाट पुलिसमा छिरेका खेलाडी हुन्। सन् २००४ मा इन्चेनमै भएको एसिया कप छनोटबाट डेब्यु गरेका उनले १४ क्याप जितेका छन्। विकाससिंह क्षेत्री थ्री–स्टारका पूर्वखेलाडी विकाससिंह क्षेत्री चोटका कारण अहिले फुटबलमा सक्रिय छैनन्। एन्फा एकेडेमीका उत्पादन उनले पनि सन् २००८ मा पाकिस्तानविरुद्ध पोखरामा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टिममा प्रवेश पाएका हुन्। अञ्जन केसी एन्फा एकेडेमीको पहिलो पुस्ताको उत्पादन अञ्जन केसी पछिल्लो समय थ्री–स्टारका प्रशिक्षक थिए। उनले औपचारिक संन्यास भने लिएका छैनन्। उनी तीन वर्ष अगाडिदेखि प्रशिक्षक रहेका उनी पनि कराँचीमा भएको साफ च्याम्पिनसिपबाट डेब्यु गरेका हुन्।

No comments:

Post a Comment